वर्तमानकाल सम्वाददाता
पुस २७,पर्सा
लामो समयपछि वीरगञ्ज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् ।नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगञ्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई सङ्क्रमित फेला परेका हुन् । दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । सङ्क्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए । नेपाल(भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।
उनी भारतको कलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए ।
यसअघि बुधवार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको थियो । कलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौँ घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।
बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । सङ्क्रमण पुष्टि भएका भारतीय युवकलाई भने सोही दिन भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए । सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी पनि ठाकुरले दिए । वीरगञ्ज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएको ठाकुरले बताए