वर्तमानकाल सम्वाददाता
रौतहट, २८ पुस । रौतहटमा रहेका स्थानिय तहले चिसो बढेसँगै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेका छन् । चन्द्रपुर, राजदेवी, फतुवा विजयपुर , परोहा, वृन्दावन , गढीमाई , ईशनाथ लगायतका पालिकाले जाडो विदा दिएको हो । विगत केहि दिनदेखि बढेको चिसो र बाक्लो हुस्सुको कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले बाल बालिकाको स्वास्थ्यको ख्याल गर्दै ४ दिनदेखि ६ दिनसम्म विद्यालयहरुमा जाडो विदा दिएको सूचनामा उल्लेख गरेको छ ।
शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि विद्यालय बन्द भएका हुन् । शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाका १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेको थियो ।
सोहि अनुसार चन्द्रपुर नगरपालिकामा रहेको सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिईएको छ । फतुवा विजयपुर नगरपालिकाले २४ देखि २६ गतेसम्म, माधव नारायण नगरपालिका, इशनाथ नगर पालिकाले पुस २६ गतेसम्म बिदा दिएको छ । राजदेवी नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म, गढिमाई नगरपालिकाले २४ गते देखि २९ गतेसम्म, राजपुर नगरपालिकाले २४ देखि पुस २९ गतेसम्म सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयमा विदा दिएको छ । परोहा नगरपालिकाले माघ १ गते, चन्द्रपुर नगरपालिकाले माघ ५ तथा वृन्दावन नगरपालिकाले पुस २५ देखि माघ २ गतेसम्म जाडो बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोहीबमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन शिक्षा समन्वय एकाइ रौतहटले सूचना जारी गरेको थियो । दिन प्रति दिन चिसो बढ्दै गएपनि स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिले चिसोबाट प्रभावित हुने सर्वसाधारणको लागि केहि व्यवस्थापन गर्न सकेको छैन । चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ । पुसको तेस्रो हप्तादेखि बढेको चिसोले बालबालिका, वृद्धवृद्धा, महिला पुरुष प्रभावित भएका छन् ।