रौतहट,२८ पुस। लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आगामी पुस २९ गतेका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकेको छ । आगामी आइतबारका लागि रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका दिन उक्त मुद्दाका लागि पेसी तारेख दिएको हो ।
२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् । २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा साविक रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । जनतालाई आफ्नो प्रभावमा पारी धाँधली गरी निर्वाचन जित्नको लागि भण्डारण गरी राखेको ग्रेनाइट र हातहतियार बनाउन संकलन गरी
राखेको विस्फोटक पदार्थ र स्थानीय मतदाता तर्साउन तयार पारेर राखिएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।
आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरु घाइते भएपछि योजनाको पोल खुल्ने डरमा घाइते अवस्थामा रहेका उनीहरुलाई आलमले आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको आरोप लागेको छ । घटनाको तीन दिनपछि नै आलमसँगै निर्वाचन लडेका शैलेन्द्र साहले २०६४ चैत ३० गते नै प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, रौतहटमा कारबाहीका लागि रायसहितको प्रतिवेदन बुझाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय रौतहटका तत्कालीन नेतृत्वले मुद्दा नचल्ने निर्णय गरेपछि उक्त घटना दबाइएको थियो ।
त्यसपछि उक्त निर्णय महान्यायाधिवक्ता कार्यालयबाट पनि सदर भएकामा पछि सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गराइ मुद्दा चलाउने आदेश दिन माग गरिएको थियो ।४ वर्ष पूरा भइसकेको उक्त मुद्दा छिटो फर्स्यौट गर्न सर्वोच्च अदालतले पनि ताकेता गरेपछि रौतहट जिल्ला अदालतमा कात्तिक २१ र २२ गते निरन्तर सुनुवाइ
गरी १५ दिनभित्र बहस नोट पेस गर्न भनिएको थियो । कात्तिक २२ गतेको आदेशपछि दसैँ, तिहार तथा छठको बिदा परेकाले सरकारी वकिलले मङ्सिर २४ गतेमात्रै अदालतमा बहस नोट बुझाएको थियो । दुवै पक्षबाट बहस नोट पेस भए पनि मुद्दाको पेसी भने चढ्न सकेको थिएन ।
जिउँदो घाइतेलाई समेत ईटाभट्टामा जलाइयो ः प्रत्यक्षदर्शी राजेश प्रसाद सहनी २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मृत्यु भएकाहरुलाई जलाउन प्रयोग गरिएको राजा ईटा उद्योगमा काम गर्ने एक प्रत्यक्षदर्शीले बम विस्फोटमा परी घाइते भएका र मृत्यु भएकाहरुलाई ईटाभट्टामा जलाएको आफूले प्रत्यक्ष दिएको बयान दिएका थिए । राजा ईटा उद्योगमै काम गर्ने राजेश प्रसाद सहनीले घटनाबारे यस्तो बयान दिएका थिए ।