वर्तमानकाल सम्वाददाता
रौतहट,२८ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि राजधानी काठमाडौंलाई केन्द्र बनाएर देखिने गरी आन्दोलन गर्ने बताएका छन् । शुक्रबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमका क्रममा उनले संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुर्नस्थापना तथा प्रदेश संरचना खारेजीको माग गर्दै शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्ने गरी आन्दोलन गरिने बताए ।‘फागुनबाट हामीले देखिने गरी आन्दोलन गर्छौं।
अहिलेपनि हामी आन्दोलनमै छौँ,’ उनले भने, ’विभिन्न स्वरुपमा काम गरिराखेका छौँ । फागुनमा राजधानीकेन्द्रीत र देखिने ढंगले ठूल्ठूला प्रदर्शनहरु गर्छौं।’ उनले ती प्रदर्शनहरु शान्तिपूर्ण, अहिंसात्मक र जनदबाब सिर्जना गर्नमा सीमित हुने बताए ।अध्यक्ष लिङदेनले गणतन्त्रवादी राजनीतिक दलहरु र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने आवश्यकता देखिएको बताए । देश निरन्तर रुपमा ओरालो लागिरहेको भन्दै उनले देशलाई उठाउने कुनै प्रयत्न नभएको बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताए। उनले प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए ।‘देश निरन्तर रुपमा ओरालो लागिराखेको छ । यसलाई उठाउने कुनै प्रयत्नहरु भइराखेको छैनन् । हामीले ०८४ अथवा अर्को निर्वाचन पर्खिने खालको सामान्य स्थिति छैन ।
यो असामान्य स्थितिलाई खासगरी देशको नेतृत्व गरिराखेका ठूला राजनीतिक दलहरुले देशका सबै राजनीतिक शक्तिहरु, दलहरुलाई समेत समाहित गरेर, मिलाएर, नयाँ निष्कर्षमा, नयाँ सम्झौतामा देशलाई लगेर थप क्षति हुनबाट रोक्नुपर्ने ठाउँमा एकपछि अर्को देशहित विपरितका कामहरु भइराखेका छन्,’ उनले भने, ’ त्यसकारण जसले आफूलाई मुख्य दल हौँ भन्छन् । उनीहरुबाट यसलाई सुधार्ने प्रयत्न भइरहेको छैन । उनीहरुले नसुधारेको अवस्थामा हामीले जनताका जनजीविकासँग सम्बन्धित विषयहरुमा कुरा उठाउनुपर्ने भएको छ ।’