रमेश कुमार यादब
माघ ०१,रौतहट
आज माघे संक्रान्ति पर्व मनाइँदै छ । सोहि अवसरमा आज देशभरि सार्वजनिक बिदा समेत दिईएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासेका साथ मनाउने गर्दछन् । उनीहरुले आज रौतहट सहित मधेश प्रदेशको बिभिन्न ठाउँमा विशेष कार्यक्रम आयोजना गर्दै छन् ।
कार्यक्रममा आनो ठाउँको स्थानिय सरकार लगायत बिभिन्न विशिष्ट व्यक्तित्वलाई निम्तो गरेर मनाउने कुरा जानकारहरु बताईरहेका छन । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, वाग्मती, लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।
वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।