जनकपुर, ११ माघ। जनकपुरबाट बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी का २३ जना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए ।
पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रिय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा ईन्चार्ज श्रीलाल महासेठ, केन्द्रिय सदस्य तथा महोत्तरी अध्यक्ष विजयकुमार साह, आम महिला मोर्चाका केन्द्रिय अध्यक्ष बबिता साह लगायतका रहेका छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रदर्शनकारीहरुले बैंकहरुले मनोमानी रुपमा लिएको ब्याज फिर्ता गर्, आम जनता पार्टी जिन्दवाद, जनतालाई दुःख दिन पाइँदैन, जनतालाई लुट्न पाइँदैन, मधेस सरकार मूर्दावाद लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शनमा उत्रिएका छन्।