काठमाडौं, ०४ भदौ। नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका पुरुषको मृत्यु भएको छ । ५८ वर्षका गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा भेटिएका थिए । बुधवार अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।
उनलाई बाँदरले आक्रमण गरेको अफवाह फैलिए पनि आक्रमण पुष्टि नभएको नुवाकोटका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उनले भने, ‘बारीमा बाँदर आयो कि भनेर हेर्न जानुभएको रहेछ तर, बाँदरले आक्रमण गरेको होइन ।’
काठमाडौँमा उपचार गर्न ल्याइँदै गर्दा बाटोमा मृत्यु भएपछि शव नुवाकोट फर्काइएको छ । यसअघि उनिलाई ३ पटकसम्म माइनर हर्ट अट्याक भएको थियो । पारिवारिक सदस्यहरूले उनलाई प्रेसरको पनि समस्या रहेको बताएका छन् । मृतक नेपालीको शरीरमा कुनै चोटपटक नदेखिएको एसपी रेग्मीले जानकारी दिए ।


