वीरगञ्ज, ०५ भदौ। पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको अपराधमा संलग्न भएको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । साथै, सोही घटनामा परेका तीन जना महिलालाई सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, कास्की, झापा, काठमाडौँ, धादिङ, चितवन, बागलुङ र मकवानपुर लगायतका जिल्लाहरूबाट सर्वसाधारण महिला तथा बालिकाहरूलाई राम्रो काम, नयाँ लत्ताकपडा, विवाह र आर्थिक प्रलोभन देखाएर ललाई-फकाई गरी मानव बेचबिखन गर्ने गिरोह सक्रिय रहेको विशेष सूचनाको आधारमा प्रहरी महिलालाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका – १६ शङ्कराचार्य गेट नजिकैको सडकखण्डमा संयुक्त प्रहरी टोलीद्वारा खानतलासी गर्दा तीन जना महिलालाई भारतको रक्सौलतर्फ लैजाने क्रममा उद्धार गरिएको छ । उनीहरूलाई हेटौँडाबाट गाडीमा वीरगञ्ज ल्याई अटोमार्फत भारत पठाउने तयारी भइरहेको अवस्थामा प्रहरीले तत्काल कारबाही गरेको थियो ।
महिलाहरूलाई भारत लग्ने घटनामा संलग्न गोरखा जिल्लाको गोरखा नगरपालिका – ४ बस्ने २८ वर्षीय सरिता सिर्मललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिर्मललाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।
त्यस्तै उद्धार गरिएका तीन जना महिलाहरूको नामथर र ठेगाना गोप्य राखिएको छ । प्रहरीले मानव बेचबिखन जस्तो जघन्य अपराधविरुद्ध कडा कारबाही गर्ने र यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउने जनाएको छ ।


