भदौ ५ गते, रौतहट।
रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल जनताको कुरा सुन्न केहीदिनदेखि निरन्तर जनताको घरदैलोमा व्यस्त छन् ।
कार्यालयमै बसेर जनताको समस्या बुझ्न र समाधान गर्न नसकिने निष्कर्ष सहित मेयर जयसवाल केहीदिनदेखि निरन्तर रूपमा जनताको घरदैलोमा गएर जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
अन्य जनप्रतिनिधिले चुनाव जितेपछि जनताको बीचमा गएर जनतासंग प्रत्यक्ष कुराकानी गर्ने आँट र हिम्मत नराख्ने गरेको भएपनि कटहरियाका मेयर अजय प्रकाश जयसवाल जनताको बीचमा गएर उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै समस्या बुझ्ने प्रयास गरिरहेका छन्।
फिल्डमा नगई जनताको समस्या बुझ्न नसकिने भएको हुँदा आफू गाउँ गाउँ पुगेर जनतासंग प्रत्यक्ष सम्वाद गरी उनीहरूलाई के कस्ता समस्या छन्, के को आवश्यकता छ इत्यादि कुरा बुझिरहेको मेयर जयसवालले बताए।
गाउँ गाउँमा जनतासंग भेटघाट गरिसकेपछि उनीहरूको आवयक्तालाई सक्दो पुरा गर्ने र समस्या समाधान गर्नेतर्फ लाग्ने मेयर जयसवालले प्रतिबद्धता जनाएका छन्।
आफू जनताको बीचमा गएर जनतासंग प्रत्यक्ष भेटघाट र कुराकानी गर्न पाउँदा निकै खुसी लागेको समेत उनी बताउँछन् ।
यसैबीच कटहरिया नगरपालिका–४ बलिरामपुरमा आज बिहीवार नगर प्रमुख अजय प्रकाशले वडावासीसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको गुनासो, सुझाव तथा आवश्यकता सुनेका छन्।
भेटघाटको क्रममा आर्थिक रूपमा निकै गरिव र कमजोर रहेका स्थानीय गनिलाल साह तेलीलाई नगर प्रमुख जयसवालले व्यक्तिगत नगद १५ हजार सहयोग गरेका छन् ।
त्यस्तै बलिरामपुरस्थित मन्दिर निर्माणका लागि नगरपालिकाको तर्फबाट उनले १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका हुन् ।
मेयर जयसवाल गाउँ गाउँमा गएर आम जनतासंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको जिज्ञासा, गुनासो र आवश्यकता सुन्न थालेपछि स्थानीय नगरवासी निकै हर्षित भएका छन्।
नगर प्रमुख जयसवाल अहिलेसम्म चार भन्दा बढी वडाको नागरिकसँग भेटघाट गरिसकेका छन्। उनको जनतासंग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम अझै जारी नै रहेको छ।


