पवन कुमार उपाध्याय
रौतहट, ०५ भदौ। रौतहटको गरुडा नगरपालिका–४ स्थित श्री नमुना माध्यमिक विद्यालयमा हालै गठन भएको विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने सञ्चालन विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले गर्नुभएको थियो।

कार्यक्रममा नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संतोष कुमार साहलाई विधिवत रूपमा शपथ ग्रहण गराउनु भएको थियो। त्यसपछि अध्यक्ष साहले क्रमशः नवगठित सम्पूर्ण सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए।

नवगठित विद्यालय व्यवस्थापन समितिमा अध्यक्षमा संतोष कुमार साह, सदस्यहरूमा संतोष कुमार चौधरी, दिलीप कुमार पटेल, उर्मिला देवी चौधरी, उपनेतिया देवी, शिला देवी राम, वडा प्रतिनिधि सदस्यमा रामएकवाल साह बनिया, शिक्षक प्रतिनिधि सदस्यमा उपेन्द्र चौधरी, र सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेल रहेका छन्।

शपथ ग्रहण पछि समितिका पदाधिकारीहरुलाई फूलमाला, अबिर र दोसल्ला लगाएर सम्मान गरिएको थियो।
यस अवसरमा नगर प्रमुख जैसवालले समितिलाई शुभकामना दिँदै विद्यालयको शैक्षिक स्तर वृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयलाई उत्कृष्ट बनाउन समितिको नेतृत्व महत्त्वपूर्ण हुने बताउँदै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय सरोकारवालाको उत्साहपूर्ण सहभागिता रहेको थियो।


