काठमाडौं, ०६ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका छन् ।
चितवनको कालिका नगरपालिका-५, पदमपुर निवासी कँडेललाई प्रहरीले बुधवार चितवनबाट नियन्त्रणमा लिएको हो ।
गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटेल मुक्तिनाथ परिसरबाट भारतीय नागरिक अभिषेक यादव पक्राउ परेसँगै प्रकरण सतहमा आएको थियो । भारतको कानपुर नौबस्तीका २५ वर्षीय यादवको साथबाट प्रहरीले नेपाली र भारतीय विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र र कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरेको थियो ।
प्रहरीले यादवसँगको सोधपुछका क्रममा कँडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार कँडेल यस प्रकरणका मुख्य योजनाकार हुन् । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
घटनाले शैक्षिक प्रमाणपत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीले नक्कली कागजात बनाउने गिरोहको सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।


