सर्लाही, ०६ भदौ। नेपाली काँग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालत र सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि नैतिकताको आधारमा उनले राजीनामा दिएको बताएका छन् ।
सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पठाएको राजीनामा पत्रमा अदालतको फैसलापछि जिम्मेवारीमा बसिरहन नमिल्ने उल्लेख गरेका छन् ।
सिंहले सन् २०५६ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट पार्टी सदस्यता प्राप्त गरेपछि निरन्तर पार्टी र देशको हितमा काम गरेको दाबी गरेका छन् । दुई कार्यकाल जिल्ला उपसभापति र २०७८ फाल्गुण २९ देखि सभापतिको जिम्मेवारी निर्वाह गरेका सिंहले अदालतको निर्णयप्रति सम्मान जनाउँदै आफूमाथि अन्याय भएको ठहर गरेका छन् । उनले व्यक्तिगत रूपमा कानुनी लडाइँ जारी राख्ने बताएका छन् ।
सिंहलाई मनुष्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा रूख कटान र आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई दोषी ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले गत फागुन १५ गते सदर गर्दै चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने निर्णय गरेको थियो ।

नेपाली काँग्रेसको विधानको धारा १३ (ङ) अनुसार नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएका व्यक्तिको पार्टी सदस्यता स्वतः समाप्त हुने व्यवस्था छ । यद्यपि, सिंहले स्वेच्छाले सभापति पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा नेपाली काँग्रेसप्रतिको आफ्नो निष्ठा अटल रहेको र पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्रको रक्षा र पार्टीको हितमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले पार्टी सभापति देउवालगायत सहयोगीहरूप्रति आभार प्रकट गरेका छन् ।
राजीनामाले नेपाली काँग्रेस सर्लाहीको आगामी नेतृत्व र सङ्गठनात्मक गतिविधिमा प्रभाव पार्ने अनुमान गरिएको छ । पार्टी कार्यकर्ता र विश्लेषकहरूले नयाँ नेतृत्व चयन र सङ्गठनको आन्तरिक गतिशीलतामा चासो व्यक्त गरेका छन् ।


