वीरगन्ज, ०८ भदौ। वीरगञ्ज महानगरपालिकामा खानेपानीको पाइपमा ढलको दूषित पानी मिसिएको आशङ्कामा हैजाको प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
आशङ्काका आधारमा खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा खानेपानी विभागको टोलीले हैजा प्रभावित क्षेत्रका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरी काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको छ ।
मन्त्री प्रदीप यादवले खानेपानीको पाइपमा दूषित पानी मिसिएर वीरगञ्जमा हैजाको प्रकोप निम्त्याएको हुनसक्ने आशङ्का व्यक्त गरे । “पानीको नमुना परीक्षणका लागि पठाइएको छ, र आज नतिजा आउने अपेक्षा छ । त्यसपछि मात्र यकिन भन्न सकिन्छ,” उनले भने ।
वीरगञ्ज महानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार, शनिवार रातिसम्म विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १६, १८ र २४ मा हैजाको सङ्क्रमण देखिएको छ ।
शुक्रवार राति वडा नम्बर १२ को मुर्ली टोलमा पहिलो पटक सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिवारसम्म आधा दर्जन वडामा हैजा फैलिएको सुमनचन्द्रले बताए ।
हैजाको प्रकोप समुदाय स्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले आइतबार र सोमबार दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा यो कदम सङ्क्रमण नियन्त्रणका लागि चालिएको उल्लेख छ । त्यस्तै महानगरले सडक किनारमा पाइने पानीपुरी, चाट, भाजा, वडा पाओ जस्ता स्ट्रिट फुडमा पनि प्रतिबन्ध लगाएको छ ।
स्वस्ति कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कोलरी जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा लाग्छ । हैजाका लक्षणमा झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानीको कमी, मांसपेशी दुख्ने र ज्वरो आउने हुन्छ । समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।
हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको जयमोदले बताए । पोखरिया नगरपालिका–९ की एक महिला र वीरगञ्ज–१२ का एक पुरुषको मृत्यु भएको हो । तर, मृत्युको कारण हैजा नै हो भन्ने पुष्टि नभएको उनले प्रस्ट पारे । “२८ साउनदेखि मुर्ली क्षेत्रमा फाट्फुट्ट झाडापखालाका बिरामी देखिएका थिए । आरडीटी परीक्षणबाट हैजा पुष्टि भएपछि यो सङ्ख्या ४२ पुगेको छ । यो महामारीकै रूप हो,” जयमोदले भने ।
हैजा प्रभावित क्षेत्रमा हाल स्वास्थ्यकर्मीको टोली खटिएको छ भने पानीको नमुना परीक्षणको नतिजा प्राप्त भएपछि थप कदम चालिने अधिकारीहरूले जनाएका छन् । स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यकर्मीहरूको विभिन्न टोली परिचालन गर्दै टोल–टोलमा पुगेर हैजा सम्बन्धी सचेतना फैलाइरहेको छ ।


