रौतहटको सदरमुकाम गौरमा आज बृहत शक्ति प्रदर्शन गरिएको छ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको सदरमुकाम गौरमा आज बृहत शक्ति प्रदर्शन गरिएको छ।

ओम प्रकाश यादव

रौतहटभदौ गौर घटनाको विषयलाई लिएर सर्वदलीय सर्वपक्षीय संयुक्त संघर्ष समिति रौतहटको आयोजनामा आज सदरमुकाम गौरमा विशाल शक्ति प्रदर्शन गरिएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा विभिन्न निकायले छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, वास्तवीक दोषी आजपा अध्यक्ष प्रभु साहलाई कार्यवाही गर्नुपर्ने माग राख्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटले आज शक्ति प्रदर्शन गरेको हो।

गौर घटना राजनीतिक घटना भएपनि राजनीतिक प्रतिशोध साध्ने नियतले सरकारले उपेन्द्र यादव सहितका नेतालाई फसाउन खोजेको भन्दै जसपा नेपाल, नेकपा एमाले, कांग्रेस, लोसपा नेपाल, नेकपा एसका नेताहरुले आज विरोध प्रदर्शन गरेको हो। गौरको रामजानकी धर्मशालाबाट निस्केको रैली गौर परिकारमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो।

रैलिमा उनीहरूले सरकारले राजनीतिक प्रतिशोध साध्न पाइँदैन, उपेन्द्र यादव लगाएतका निर्दोष नेतालाई झुठा मुद्दामा फसाउन पाइँदैन, झुठा मुद्दा खारेज गर, गौर घटनाको निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई कार्यवाही गर, मानव अधिकार आयोग लगाएतका निकायले गरेको छानबिनको प्रतिवेदन सार्वजनिक गर लगाएतका नारा लगाएका थिए।

मधेशी क्रान्ति चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पुर्व राज्य मन्त्री योगेन्द्र राय यादवले ओली सरकारले राजनीतिक प्रतिशोध साध्ने नियतले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन्।

मधेश बिरोधी रहेको भूमि सम्बन्धी अध्यादेश हुबहु पास हुन नदिन पार्टी अध्यक्ष उपेन्द्र यादवले चट्टानी अडान लिएपछि आत्तिएका ओली सरकारले भूमि अध्यादेश पास गराउन सर्वोच्चबाट परमादेश जारी गराई उपेन्द्र यादवलाई तर्साउन र डराउन खोजेको नेता यादवले बताए।

भूमि सम्बन्धी अध्यादेश पास गराउन सहयोग नगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष उपेन्द्र यादव सहितका निर्दोष नेतालाई गौर घटनामा सुनियोजित तरिकाले फसाउने खोजेको नेता योगेन्द्र राय यादवले बताए ।

मानव अधिकार लगाएत निकायको प्रतिवेदन अनुसार गौर घटनाको वास्तवीक दोषी र योजनाकार तत्कालिन माओवादी नेता प्रभु साह भएपनि उनलाई कार्यवाही गर्नुको सट्टा कुनै संलग्नता नै नभएको आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई बलजबर्जस्ती फसाउन खोजेको उनको आरोप छ।

बलजबर्जस्ति सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजे आफूहरु ठूलो विद्रोहमा उत्रिने उनले चेतावनी दिए। त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता बबन सिंहले गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको योजनामा भएको दाबी गर्दै सरकारले प्रभु शाहमाथि अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले प्रभु साहको दम्भ, घमण्ड र अहंकारको कारण गौर घटना भएको बताएका छन् । गौर घटनाको मुख्य दोषी नै प्रभु साह रहेकोले उनलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग उनले माग गरे ।

लोसपा नेताहरुले समेत गौर घटना बारे सरकारले निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई मात्र कार्यवाही गर्नुपर्ने धारणा राखेका थिए। लोसपा र नेकपा एसका नेताहरुले मधेश नेताहरुलाई फसाउन प्रभु साहले बलजजबर्जस्ती किटानी जाहेरी दिन लगाएको आरोप लगाए।

साहले दिन लगाएको जाहेर झुठा रहेको र गौर घटनाको मुख्य दोषी प्रभु साह नै रहेकोले उनीमाथि अनुसन्धान गरी उनलाई कार्यवाही गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

१९ वर्ष अघि तत्कालीन मधेशी जन् अधिकार फोरम र माओवादीले गौरको राइस मिलमा एकै दिन एकै ठाउँमा कार्यक्रम आयोजना गर्दा झडप भई २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सो घटना प्रभु साहको हठ, घमण्ड, अहंकारको कारण भएकोले घटनाको जिम्मा प्रभु साहले नै लिनुपर्ने र उनलाई नै कार्यवाही हुनुपर्ने सर्वदलीय सर्वपक्षीय संघर्ष समितिको जिकिर छ।

तर सर्वोच्च अदालतले केहीदिन अघि मात्र गौर घटना सन्दर्भमा उपेन्द्र यादव लगाएत १३० जना नेतामाथि अनुसन्धान गर्न आदेश दिएपछि यस घटनामा नाम मुछिएका नेताहरु तरंगित भएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस