सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दिपक यादवको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

सप्तरी, १२ भदौ। सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव (टुटु बाबु) को ६८ वर्षको उमेरमा निधन भएको छ । महादेवा–३, बथनाहाका यादव कलेजोको क्यान्सरबाट पीडित थिए ।

लामो समयदेखि भारतको दिल्लीस्थित आइएलबीएस अस्पतालमा उपचाररत उनको बुधबार आफ्नै घरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बिहीबार गरिनेछ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकारसमेत रहेका यादवको निधनप्रति पार्टीका सप्तरी अध्यक्ष केदार यादवले गहिरो शोक प्रकट गरेका छन् । ‘यादवको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक जीवन विद्यार्थीकालदेखि सुरु गरेका यादव प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा सक्रिय रहेका थिए । कार्यकालमा सडक, खानेपानी, विद्यालय र स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकता दिएका उनले महिला, दलित र युवाको सहभागिता बढाउने कार्यक्रम सञ्चालन गरेका थिए ।

जनमैत्री र सरल स्वभावका कारण उनी स्थानीयमा लोकप्रिय थिए । उनका बुवा विशेश्वर प्रसाद यादवले पनि पञ्चायती शासनविरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए ।

पूर्व अध्यक्ष यादवको निधनमा महादेवा गाउँपालिकाले बिहीबार गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिकबाहेक), सेवा केन्द्र र सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले जारी गरेको शोक सन्देशमा यादवले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । यादवका पत्नी, एक छोरा र एक छोरी रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस