
सर्लाही, १५ भदौ। सर्लाहीको मलंगवा नगरपालिका–९, पिपलबोट नजिकै रहेको नेपाल–भारत सीमाक्षेत्रबाट शसस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
शसस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाको गस्ती टोलीले पैदल चेकजाँच गर्ने क्रममा व्यवारिसे अवस्थामा फेला परेको प्लास्टिकको झोलामा ७८ बोतल वनरेक्स नामक लागुऔषध भेटिएको हो।
बरामद गरिएको लागू औषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० गणले जनाएको छ। खुला सीमाको कारण भारतीय बजारबाट विभिन्न किसिमका लागुऔषध सजिलै नेपाल भित्रिने गुनासो भइरहेका बेला शसस्त्र प्रहरीले निगरानी कडा बनाएको छ।
सोही क्रममा लागुऔषधसँगै भन्सार छली नेपाल तर्फ ल्याइँदै गरेको अन्य सामान पनि बरामद भइरहेकाले कारबाहीलाई थप प्रभावकारी बनाइएको शसस्त्र प्रहरी बल नम्बर १० गणका प्रवक्ता तथा नायव उपरीक्षक गोपी भट्टराईले बताए।
