काठ तस्करीविरुद्ध विशेष अपरेसन, ठूलो परिमाणमा काठ बरामद, एक तस्कर पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १६, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठ तस्करीविरुद्ध विशेष अपरेसन, ठूलो परिमाणमा काठ बरामद, एक तस्कर पक्राउ

वीरगञ्ज, १६ भदौ। बारामा मधुबन सब–डिभिजन बन कार्यालयको संयुक्त एम्बुस टोलीले काठ तस्करीविरुद्ध विशेष अपरेसन सञ्चालन गरी ठूलो परिमाणमा काठ बरामद गर्न सफल भएको छ । सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।

बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा खटिएको टोलीले बथान टोल नजिक गस्ती गर्ने क्रममा बिहान तस्करीमा संलग्न समूहलाई नियन्त्रणमा लिएको हो । टोलीले बेलुकी ७ बजेदेखि जङ्गलमा तीन समूहमा विभाजन भई गस्ती गरिरहेको थियो ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार, अपरेसनका क्रममा ५ थान साल जातका काठ (४६.०६ क्युफिट), ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरिएको छ ।

करिब १० जनाको तस्कर समूहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७, रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनी पक्राउ परेका छन् । अन्य तस्कर भने फरार रहेको कार्यालयले जनाएको छ । पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको छ ।

डिभिजनल बन अधिकृत झाले काठ तस्करीमा संलग्न जोकोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनी दिएका छन् । अपरेसनले बाराको जङ्गल क्षेत्रमा हुने अवैध काठ तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस