उम्मेदवार छनोटमा एकताको सन्देश दिँदै गणेश पौडेल

  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
उम्मेदवार छनोटमा एकताको सन्देश दिँदै गणेश पौडेल
रौतहट,१५ कात्तिक। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा उम्मेदवार छनोट प्रक्रिया र पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको छ।
छलफलमा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलले उम्मेदवार छनोटलाई व्यक्तिगत आकांक्षाभन्दा पार्टीको सामूहिक निर्णय र जनताको अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।
वडा नं ८ का वडा सभापति सुदिप गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पौडेलले उम्मेदवार जोसुकै चयन भए पनि पार्टीका सबै नेता तथा कार्यकर्ताले एकताबद्ध भएर सहयोग गर्नुपर्नेमा जोड दिए।
उम्मेदवार बन्ने आकांक्षा राख्नु स्वाभाविक भए पनि अन्तिम निर्णयपछि असन्तुष्टि राखेर अलग्गिनेभन्दा चयन भएका उम्मेदवारलाई सहयोग गर्नु राजनीतिक जिम्मेवारी भएको उनको भनाइ थियो।
पौडेलका अनुसार वडा अध्यक्षदेखि नगर प्रमुखसम्मका आकांक्षीहरूले उम्मेदवारीका लागि आफ्नो नाम ‘क्यान्डिडेट कल्ब’ मा दर्ता गराएपछि पार्टीले छलफल र मूल्यांकनका आधारमा उम्मेदवारको टुंगो लगाउनेछ। उम्मेदवार छनोट गर्दा व्यक्तिगत सम्बन्ध, पहुँच वा दाबीभन्दा जनतामाझको काम, सामाजिक सम्बन्ध र सार्वजनिक छविलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
‘उम्मेदवार बन्ने चाहना राख्नु सबैको अधिकार हो। तर पार्टीको निर्णय प्रक्रियालाई सम्मान गर्दै अघि बढ्नुपर्छ। अन्तिममा उम्मेदवार जोसुकै भए पनि सबैले उसलाई सहयोग गरेर जानुपर्छ,’ पौडेलको भनाइ थियो।
उनले उम्मेदवार छनोटको आधार जनताको विश्वास र स्थानीय तहमा गरेको काम हुनुपर्ने पनि बताए। जनताको सुखदुःखमा साथ दिएको, स्थानीय समस्या बुझेको, जनतासँग प्रत्यक्ष सम्बन्ध राखेको र स्वच्छ छवि भएको व्यक्तिले उम्मेदवारी पाउने सम्भावना बलियो रहेको उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्नु केवल पद बाँडफाँटको विषय नभई आगामी पाँच वर्षको स्थानीय नेतृत्व छनोटसँग जोडिएको विषय भएकाले यसमा गम्भीर हुनुपर्ने पौडेलले बताए। उनका अनुसार जनताले चुनावका बेला मात्रै देखिनेभन्दा निरन्तर जनताको बीचमा रहेर काम गर्ने नेतृत्व खोज्ने भएकाले उम्मेदवार छनोटमा पनि यही पक्षलाई ध्यान दिनुपर्छ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका–८ को वडा अध्यक्षका लागि दीपक पौडेल, दीपेश पौडेल, चन्देश्वर बधार, साधुराम तिमल्सिना, चालप्रसाद सापकोटा, अर्जुन चौधरी, रामप्रसाद तिमल्सिना र सुदीप राज गिरीले आकांक्षा प्रस्तुत गरेका छन्।
त्यस्तै, वडा सदस्यका लागि रामबहादुर चौधरी, सुकुमाया कुमारी विक र प्रेमलाल चौधरीले नाम दर्ता गराएका छन्। सो कार्यक्रममा चन्द्रपुर नगरसभापति अरुण लामा, उपसभापति राजकिशोर गुप्ता, संस्थापक सभापति उदयनरायण सापकोटा(सुरेन्द्र) लगायतका उपस्थिति रहेकोे थियो ।
आकांक्षीहरूको संख्या बढेसँगै उम्मेदवार छनोटमा सहमति, समन्वय र पार्टीको निर्णयलाई स्वीकार गर्ने विषयले पनि छलफलमा प्राथमिकता पाएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस