पक्राउ परेकी किरणको रिहाइ माग गर्दै पर्सामा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
पक्राउ परेकी किरणको रिहाइ माग गर्दै पर्सामा प्रदर्शन

पर्सा, १७ भदौ। पर्सामा खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको रिहाइको माग गर्दै सोमबार साँझ महिलाहरूले प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि गरिएको प्रदर्शनमा सहभागीहरूले किरणले मन्त्रीसँग जनस्वास्थ्यसँग जोडिएको विषयमा मात्र प्रश्न सोध्दा पक्राउ गरिएको भन्दै आपत्ति जनाए।

वीरगन्जमा फैलिएको हैजा र झाडापखालाबारे बुझ्न खोज्दा नियन्त्रणमा लिइएको भन्दै उनीहरूले तत्काल छोड्नुपर्ने माग गरे। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य करिमा बेगमले “संसारको जुनसुकै मुलुकमा नागरिकले मन्त्रीलाई प्रश्न सोध्न सक्छ, तर त्यसकै आधारमा पक्राउ गर्नु गलत हो” भन्दै प्रहरीलाई तत्काल रिहाइको आग्रह गरिन्।

किरणकी आमा साबित्री साहले पनि छोरीलाई पद र पावरको दुरुपयोग गरी पक्राउ गरिएको आरोप लगाइन्। उनले छोरीलाई छोड्न ढिलाइ भए महिलाहरूको ठूलो संख्यामा सडकमा उतार्ने चेतावनी दिइन्। प्रदर्शनमा समाजवादी दलित मुक्ति संगठनकी कोषाध्यक्ष ताराकुमारी राम, समाजवादी महिला संघ पर्साकी अध्यक्ष संगीता तिवारी, जनमत पार्टीकी नेतृ नजमा खातुनलगायत महिला नेतृहरूको पनि सहभागिता थियो।

यसबीच, पर्सा जिल्ला अदालतले किरणविरुद्ध दायर तीनवटा मुद्दामा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो। पर्साका डिएसपी किशोर लम्सालका अनुसार, किरणविरुद्ध विद्युतीय अपराध, सांसदलाई धम्की दिएको, र झुठा अफवाह फैलाएको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

शनिबार मन्त्री यादवको सचिवालयबाट उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। शुक्रबार राति सार्वजनिक भएको एउटा अडियोमा किरणले मन्त्री यादवसँग “वीरगन्जमा हैजाले मानिस मर्दा तपाईं के गर्दै हो ?” भनेर कडा स्वरमा प्रश्न सोधेको सुनिन्छ। उनले पटक पटक फोन गर्दा समेत जवाफ नपाएको भन्दै आक्रोश प्रकट गरेकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस