रौशन कुमार चौधरी
भदौं १८ गते ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जनताको सुझाव र विकास योजनासम्बन्धी प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । स्थानीयस्तरमै जनताको माग, गुनासा र विकास आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बुधबार कटहरिया नगरपालिका–१ भसेढवामा विशेष छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले आफू निर्वाचित भएदेखि नै नगरबासीको हकहित र विकासलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे । उनले भने, “जनताको आवाज नै हाम्रो मार्गदर्शन हो, नगरपालिकाले हरेक निर्णय जनताको सुझाव र प्राथमिकताको आधारमै लिनेछ । जनताको अपेक्षालाई व्यवहारमा उतार्ने हाम्रो प्रतिबद्धता कायम छ ।”
नगर प्रमुखले नगरभित्रका अधुरा योजनाहरूलाई पुरा गर्दै पूर्वाधार विकासलाई तीव्रता दिने घोषणा गरे ।
उनले विशेषगरी सार्वजनिक प्रयोगका लागि निर्माण गरिएका प्रतिक्षालयहरूलाई मर्मत गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । त्यसतै उक्त वार्डमा आवतजावतमा कठिनाई भईरहेको सडकमा पक्की ढलान गर्ने, बर्षाको समयमा पानी जमेर सडकमा हिलो हुने भएकोले नाला निर्माण सहित नगरका बिभिन्न बर्गहरुका लागी साझा धर्मशाला निर्माण गर्ने नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भयो । साथै, आगामी दिनमा ल्याइने हरेक नीति तथा योजना व्यवहारिक र जनमुखी हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र सरसफाइलाई नगरपालिकाले प्राथमिकतामा राख्ने बताए ।
यसै क्रममा नगर उपप्रमुख रिता देवी यादवले पनि नगरपालिकाले बालबालिका, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा अघि सारेका पहलहरूको जानकारी दिइन् । उनले भनिन्, “हामी निर्वाचित भएदेखि नै महिला अधिकार, बालबालिकाको संरक्षण र शिक्षा–स्वास्थ्य सुधारका लागि काम गर्दै आएका छौँ । जनताको अमूल्य मतको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नेछौँ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनु यादवले विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले शिक्षा नै जीवनको ज्योति भएको उल्लेख गर्दै स्थानीय तह, अभिभावक, शिक्षक र विद्यार्थी सबैको सामूहिक प्रयासले मात्र शैक्षिक गुणस्तरमा सुधार आउने बताए ।
त्यस्तै, वडा नं.८ का वडा अध्यक्ष समिश विक्रम शाहले वडा स्तरमा भइरहेको विकास कार्य, चुनौती र आगामी योजनाबारे जानकारी गराए । उनले वडा कार्यालयलाई जनताको आफ्नै घर–आँगनको संस्था ठहर गर्दै प्रत्यक्ष रुपमा समस्या समाधानमा तत्पर रहने प्रतिबद्धता जनाए । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, महिला समूहका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहभागीहरूले नगरपालिकाले ल्याउन लागेका आगामी योजनाबारे सुझाव दिनुका साथै स्थानीयस्तरमा देखिएका विभिन्न समस्या प्रस्तुत गरेका थिए । कार्यक्रमले नगरवासी र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद र समन्वयलाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ ।


