संखुवासभा, १९ भदौ। संखुवासभाको पाँचखपन नगरपालिका–४ घतानि गाउँमा अवैध हतियारसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक बाबुराम चौधरीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले ४३ वर्षीय रामबहादुर श्रेष्ठको घरमा खोजतलासी गर्दा बिनाइजाजत राखिएको भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारीअनुसार बुधबार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटिएको थियो । श्रेष्ठको बाँसको भाटा र जस्ताले छाएको एकतले घरमा, उनको ओछ्यान मुनि लुकाएर राखिएको लोड भएको बन्दुक प्रहरीले फेला पारेको डिएसपी दक्षकुमार बस्नेतले बताए । पक्राउ परेका श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि अवैध गतिविधि देखे वा थाहा पाए तत्काल जानकारी दिन आग्रह गरेको छ ।


