सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ आज देखि सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ आज देखि सुरु

काठमाडौं,२३ भदौ। आज देखि वैदिक सनातन हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध, अर्थात् पितृ पक्ष, औपचारिक रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवंगत पितृलाई सम्झेर गरिने तर्पण, सिदादान र पिण्डदानलाई नै सोह्रश्राद्ध भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको पात्रो अनुसार आज प्रतिपदा तिथिमा गरिने श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यसै दिन श्राद्ध प्रारम्भिक कर्म सम्पन्न गरिन्छ ।

सोह्रश्राद्धलाई अपर वा प्रेत पक्ष नामले पनि चिनिन्छ । वैदिक शास्त्र अनुसार दिवंगत आत्माले यस अवधिमा आफ्ना सन्तानबाट तर्पण र श्राद्धको आशा गर्ने विश्वास गरिन्छ । श्राद्ध नगरे अक्षम्य दोष लाग्ने धार्मिक वचन समेत पाइन्छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यस कर्मले पितृ ऋणबाट मुक्ति पाउने र आफ्नो दायित्व पूरा हुने विश्वास रहिआएको छ ।

शास्त्र अनुसार श्राद्ध अपराह्न कालमै गर्नुपर्ने उल्लेख छ । जातशौच, मृतशौच वा पत्नी रजस्वला अवस्थाबाहेक श्राद्ध नगर्नु हुँदैन भन्ने स्पष्ट प्रावधान छ । कुनै कारणवश तिथिअनुसार श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीभित्र, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिरमा वृश्चिक सङ्क्रान्तिसम्म समेत गर्ने विकल्प धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।

यस्तो आपत धर्मअनुसार रोकिएको श्राद्ध गर्न नसकिएमा ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गरी दश महिनासम्म निरन्तर साधना गर्ने विधि पनि मान्य छ । यसरी जप गर्दा पनि पितृ तृप्त हुने धार्मिक विश्वास पाइन्छ ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कतिपय पुरोहितले बिहानै श्राद्ध गर्ने प्रचलनलाई शास्त्रसम्मत मान्न सकिँदैन । श्राद्ध अपराह्नमै गर्नुपर्ने स्पष्ट उल्लेख भएको उनले बताए । सोह्रश्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । ठूलो पर्व अघि पितृ तृप्तिको विधि पूरा गर्ने परम्परा वैदिक सनातन संस्कृतिमा निरन्तर रही आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस