
सिरहा, २४ भदौ। जेनजी आन्दोलनकारीले सिरहाका सरकारी अड्डाहरूमा आगजनी गरेका छन् । मंगलबार बिहानैदेखि सडक केन्द्रित आन्दोलन गरिरहेका उनीहरू दिउँसोबाट सरकारी कार्यालय तोडफोड र आगजनीमा उत्रिएका हुन् ।
सिरहा प्रहरीका अनुसार लहान नगरपालिका, कल्याणपुर नगरपालिका, लहानस्थित आन्तरिक राजस्व कार्यालय, घरेलु कार्यालय, डिभिजन वन कार्यालयलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।
जेनजीको आन्दोलन चर्किँदै गएपछि सिरहा प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गरी जिल्लाका विभिन्न स्थानमा कर्फ्यू लगाएको हो ।
मंगलबार दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।
अधिकारीका अनुसार लहानसहित गोलबजार, मिर्चैया, सिरहा र आसपासका क्षेत्रमामा कर्फ्यू लगाइएको हो । जेनजी आन्दोलनकारीले जिल्लाका विभिन्न स्थानमा बजार र राजमार्ग बन्द गर्दै प्रदर्शन गरिरहेका छन् ।
