सर्लाहीका दर्जनौं प्रहरी चौकी विस्थापित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २६, बिहिबार (५ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीका दर्जनौं प्रहरी चौकी विस्थापित

सर्लाही, २६ भदौ। जेन–जी आन्दोलनपछि सर्लाहीमा सुरक्षाको अवस्था जटिल बन्दै गएको छ। मंगलबारदेखि सुरु भएको आन्दोलनमा देखिएका अराजक गतिविधीका कारण एक दर्जनभन्दा बढी प्रहरी चौकी तथा अस्थायी चौकीहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार बुधबार दिउँसोसम्म मात्र दक्षिणी सर्लाहीका कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, गोडैता, मधुवनगोठ लगायत क्षेत्रका चौकीहरू विस्थापित भइसकेका छन्। त्यस्तै महेन्द्र राजमार्ग आसपासका फुलजोर, परवानीपुर र घारिबथान चौकीसमेत खाली भएका छन्।

स्थिति गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, कालिध्वज गण पाँचकुमारीका गणपति सेनानी उमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द लगायत सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। स्थानीयवासीले विस्थापित चौकीहरू तत्काल पुनःस्थापना गर्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी खड्काले सुरक्षाकर्मीहरूको पुनःस्थापनाका लागि सक्रिय पहल भइरहेको बताएका छन्। यद्यपि बुधबार बिहानदेखि नेपाली सेनाले सुरक्षाको जिम्मेवारी सम्हालेसँगै अवस्था केही नियन्त्रणमा आएको हो। सेनानी उमेश खड्काका अनुसार अहिले सर्लाहीको सुरक्षा अवस्था तुलनात्मक रूपमा स्थिर छ।

ताजा अपडेट

खोजी गर्नुहोस