काठमाडौं, २७ भदौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा देशभर ३६ जनाको मृत्यु भएको र १७ सय ६० जना घाइते भएको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार, भदौ २७ गते राति ९ बजेसम्म देशभरका ५८ वटा अस्पतालबाट सङ्कलन गरेको विवरण अनुसार उक्त क्षति पुष्टि भएको हो ।
मन्त्रालयको तथ्याङ्कअनुसार, कुल घाइतेमध्ये ३ सय २२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय ३० जना उपचारपछि घर फर्किसकेका छन् । गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।
तथ्याङ्कअनुसार, आन्दोलनको सबैभन्दा बढी असर काठमाडौँ उपत्यकामा परेको छ । उपत्यकाका मुख्य अस्पतालहरू घाइतेहरूले भरिएका छन् ।
सिभिल सर्भिस अस्पतालमा सबैभन्दा धेरै ४ सय ५२ जना घाइतेको उपचार गरेकोमा ६ जनाको मृत्यु भएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ७१ जना घाइतेमध्ये ८ जनाको मृत्यु भएको छ । पाँच जनाको आइसियुमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी अस्पतालमा १ सय ७६ जना घाइतेको उपचार गरिएको छ भने कीर्तिपुर अस्पतालमा ३ जना जलेर घाइते भएका सहित ३० जनाको उपचार भएको छ ।
काठमाडौँबाहिर पनि आन्दोलनको प्रभाव व्यापक देखिएको छ । प्रदेशहरूका विभिन्न अस्पतालमा पनि मृतक तथा घाइतेको सङ्ख्या उल्लेख्य छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा २८ जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको छ भने झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ८४ जना घाइतेको उपचार गरेकोमा १ जनाको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा २७ जना घाइतेको उपचार गरिएको छ भने रामेछाप अस्पतालमा १४ जना घाइतेमध्ये २ जनाको मृत्यु भएको छ ।


