रौतहट,२७ भदौ। संविधान र लोकतन्त्रको रक्षाको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार रौतहट जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
गरुडा बजारमा आयोजित प्रदर्शनमा कांग्रेसका मेयर प्रत्यासी सुनिलकुमार यादव, उपमेयर पुनम कुमारी चौधरी, वृन्दावन नगरपालिकाका पूर्व मेयर रामसिनेही यादव, वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवलगायत जिल्ला र नगर तहका नेताहरूको उल्लेख्य उपस्थिति थियो। उनीहरूले संविधानको निरन्तरता र संवैधानिक शासनले मात्र राष्ट्रलाई स्थायित्व दिन सक्ने र जनअधिकार सुरक्षित हुने बताएका थिए।
पार्टी कार्यकर्ताहरूले मूल सडकमा प्लेकार्डसहित नारा-जुलुस गरेका थिए। उनीहरूले “संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।
यसैगरी, फतुवा विजयपुर नगरपालिकाको विजयपुर बजारमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा अर्को सशक्त प्रदर्शन सम्पन्न भएको थियो। उनले संविधानमाथि भइरहेको चुनौतीप्रति चिन्ता व्यक्त गर्दै भने, “संविधानमाथि आँच आउनु केवल कागज च्यातिनु होइन, यो हाम्रो सङ्घर्ष, बलिदान र पहिचानमाथिको प्रहार हो।”
विजयपुरमा कांग्रेसका निवर्तमान नगर प्रमुख गोपाल राय यादवसहितका नेताहरूले पनि सहभागीलाई सम्बोधन गरेका थिए। उनीहरूले संवैधानिक सीमाभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिंदै “संविधानको रक्षा गरौं, लोकतन्त्र बचाऔं र विदेशी हस्तक्षेप बन्द गर” भन्ने नारा अघि सारेका थिए।


