जेन-जी आन्दोलनका क्रममा : सिंहदरबार र आसपासमा एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ५ पटक पढिएको
जेन-जी आन्दोलनका क्रममा : सिंहदरबार र आसपासमा एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट

वीरगञ्ज, ३१ भदौ। सिंहदरबार र वरपरका सरकारी कार्यालयहरूमा भएको आगजनीका कारण एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् ।

गत मङ्गलवार जेन-जी समूहको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले ४ सय ४१ चार पाङ्ग्रे र ६ सय १ दुई पाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

गोरखापत्र दैनिकको स्थलगत अवलोकन र सम्बन्धित सरकारी निकायको प्रारम्भिक अनुमानका आधारमा तथ्याङ्क तयार पारिएको हो । यद्यपि, सङ्ख्या अन्तिम नभएको र वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ । तोडफोड भएका तर नष्ट नभएका सवारीसाधन यो तथ्याङ्कमा समावेश छैनन् ।

सडक विभागले सबैभन्दा ठूलो क्षति बेहोरेको छ । विभागका अनुसार मोटरसाइकल र स्कुटरको सङ्ख्या गन्न नसकिने गरी जलेका छन् । त्यस्तै, सर्वोच्च अदालतमा ५१ चार पाङ्ग्रे सवारीसाधन र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल र स्कुटर नष्ट भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र करिब २ सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल र स्कुटर, अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल र स्कुटर, तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी, दुई बस र ३६ मोटरसाइकल जलेर नष्ट भएको विवरण प्राप्त भएको छ ।

आगजनीबाट भएको आर्थिक क्षतिको पूर्ण विवरण तयार गर्न अझै समय लाग्ने सरकारी अधिकारीहरूले बताएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले क्षतिको यकिन विवरण सङ्कलन भइरहेको र यसले ठूलो आर्थिक भार थपिने बताए ।

क्षति भएको सवारीसाधनको प्रारम्भिक विवरण तालिकामा समावेश गरिएको छ । घटनाले सरकारी सम्पत्तिको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायहरूले थप अनुसन्धान र क्षति मूल्याङ्कन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस