नारायणी अस्पतालमा आगलागी, एनआईसीयुको स्टोर कोठा जलेर नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ६ पटक पढिएको
नारायणी अस्पतालमा आगलागी, एनआईसीयुको स्टोर कोठा जलेर नष्ट

वीरगञ्ज, ३१ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रसूति गृह भवनमा रहेको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु) को स्टोर कोठामा मङ्गलवार बिहान आगलागी भएको छ ।

बिहान करिब ४ बजे तेस्रो तलमा रहेको स्टोर कोठामा विद्युतीय सर्टका कारण आगो सल्किएको अनुमान गरिएको छ । 

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आगलागीले स्टोर कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । यद्यपि, तत्कालै नियन्त्रणमा लिइएका कारण कुनै मानवीय क्षति भने भएको छैन ।

“बिहान ४ बजे विद्युतीय कारणले स्टोरमा आगो लागेको थियो । वीरगञ्ज महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आयो,” डा. सिंहले भने, “एनआईसीयुमा भर्ना भएका बालबालिकालाई सुरक्षित रूपमा अन्य विभागमा स्थानान्तरण गरी उपचार जारी छ ।”

आगलागीको कारण प्रारम्भिक रूपमा बिजुलीको तार सर्ट भएको आशङ्का गरिएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको डा. सिंहले बताए ।

अस्पताल प्रशासन र स्थानीय निकायको तत्परताले ठूलो दुर्घटना टरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस