वीरगञ्ज, ३१ भदौ। वीरगञ्ज महानगरपालिकाको नगर परिषद्को मङ्गलवार बसेको बैठकले हालैको जेन-जी आन्दोलनका क्रममा सहिद भएका भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै सङ्कलन भइरहेको उल्लेख गर्दै उनले पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने बताए । अन्य वडा र स्वास्थ्य कार्यालयहरूमा समेत भएको तोडफोड र आगजनी समेत गरेर कुल १२० देखि १२५ करोड रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको महानगर स्रोतले जनाएको छ ।
यसैबिच नगर परिषद्को बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ ।
बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ-आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको उनले जानकारी दिए ।
गत सातादेखि वीरगञ्जमा जेन-जी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो । यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो । आगलागीबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए ।
प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान सङ्कलन गरिरहेको जनाएको छ ।
नगर परिषद्को बैठकले हालको असामान्य परिस्थितिमा वीरगञ्जलाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ ।


