वीरगञ्ज, ३१ भदौ। बाराको सुवर्ण गाउँपालिका–३ पचगछिया टोलमा विषाक्त रक्सी सेवनका कारण तीन जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
स्थानीय वडाध्यक्ष राम क्षेत्री यादवका अनुसार सोमबार साँझ ६ बजेदेखि राति ८ बजेसम्ममा ४५ वर्षीय गोपाल यादव, ५० वर्षीय ऐजाजुल मियाँ र २७ वर्षीय रामसुरथ यादव (डिबुवा) को मृत्यु भएको हो ।
स्थानीयका अनुसार मृतक तीनै जनाले आइतबार साँझ पचगछिया टोलस्थित ट्रान्सफर्मर नजिकै रामभरोस यादवले सञ्चालन गरेको अवैध रक्सी पसलमा मदिरा सेवन गरेका थिए । मदिरा विषाक्त भएको कारण मृत्यु भएको स्थानीयको दाबी छ ।
यद्यपि, बाराका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले मृत्युको कारण विषाक्त रक्सी नै भएको हालसम्म पुष्टि नभएको बताए । उनले मृतकका आफन्तले पनि यसबारे कुनै उजुरी नदिएको र शवको दाहसंस्कार भइसकेकाले पोस्टमार्टम गर्न नसकिएको जानकारी दिए ।
अर्कोतर्फ स्थानीय र वडाध्यक्ष क्षेत्रीका अनुसार सोमबार राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । तर, मृत्युको कारण ‘बिरामी’ भएको भन्दै प्रहरीले कुनै अनुसन्धान नगरी फर्किएको स्थानीयको गुनासो छ । वडाध्यक्ष क्षेत्रीले भने, “आइतबार रक्सी सेवन भएको थियो, र सोमबार साँझदेखि रातिसम्म तीनै जनाको मृत्यु भयो । प्रहरी आएर पनि यतिकै फर्कियो ।”
डिएसपी पण्डितले भने घटनाबारे औपचारिक जानकारी नआएको र दाहसंस्कारपछि मात्र जानकारी प्राप्त भएको दाबी गरे ।
बारामा अवैध रक्सी भट्टीहरू खुलेआम सञ्चालन हुँदै आएका छन् । यसअघि बरियारपुरलगायत विभिन्न स्थानमा विषाक्त रक्सीका कारण मृत्युका घटना भइसकेका छन् । स्थानीयले प्रहरीले यस्ता भट्टी नियन्त्रणमा प्रभावकारी कदम नचालेको र केही प्रहरी युनिटले मासिक रकम लिएर संरक्षण दिएको आरोप लगाएका छन् । सीमावर्ती गाउँहरूमा यस्ता अवैध भट्टीको सञ्जाल फैलिएको र सस्तो, गुणस्तरहीन रक्सी बिक्रीले बारम्बार मानवीय क्षति निम्त्याइरहेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार मृत्युको वास्तविक कारण विषाक्त रक्सी भए पनि ‘बिरामी’ को बहानामा घटना लुकाउने प्रयास भएको छ । घटनाले बारामा अवैध रक्सी भट्टी नियन्त्रणमा प्रहरीको कमजोर भूमिका र प्रशासनिक लापरबाहीमाथि गम्भीर प्रश्न उठाएको छ ।
स्थानीयले प्रहरी र प्रशासनले यस्ता गतिविधिमा कडा कारबाही गर्न र विषाक्त रक्सीको उत्पादन तथा बिक्री रोक्न प्रभावकारी कदम चाल्न माग गरेका छन् । डिएसपी पण्डितले घटनाको जानकारी लिएर आवश्यक कारबाही अघि बढाउने बताएका छन् ।


