भदौ ३१ गते ।रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री माध्यमिक विद्यालयमा अध् ययनरत विद्यार्थीहरुलाई मंगलबार विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
कटहरिया नगरपालिकाको सहयोगमा विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवाल प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक नवल किशोर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख जैसवालले विषम परिस्थिति बीच पनि विद्यार्थीको पढाइ–लेखाइमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले पोशाक, टाई, बेल्ट, जुत्ता, मोजा, आईडी कार्ड र ब्याग सहितका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई अनुशासनका साथ अध्ययनमा ध्यान दिन र आफ्नो भविष्य उज्जवल बनाउन मेहनत गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नगर प्रमुख जैसवालले विद्यालयका शिक्षकहरुलाई समेत विद्यार्थीको पठन–पाठनमा कुनै कठिनाइ आउँदा तुरुन्त समाधान गर्न आग्रह गर्दै शिक्षामा सुधार नगरपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक ठाकुरले २०८१/८२ आर्थिक वर्षको विनियोजित बजेटबाट २२ लाखको लागतमा शैक्षिक सामग्री खरिद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् भने तीमध्ये ५ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । उहाँले विद्यालयको अवस्था विगतमा निकै दयनीय रहे पनि अहिले विद्यालय परिवारको अथक प्रयास र नगरपालिकाको सहयोगले विद्यालय सुधारोन्मुख अवस्थामा पुगेको बताउनुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली,लेखा प्रमुख कामेश्वर सहनी शिक्षा संयोजक सुरेन्द्र ठाकुर, स्थानीय सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यार्थीहरुलाई पठनपाठनमा सक्रिय रहन र विद्यालयसँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गरेका थिए ।
डुमरियामा ५ सय विद्यार्थीलाई नगर प्रमुख अजय प्रकाश द्वारा शैक्षिक सामग्री वितरण


