डुमरियामा ५ सय विद्यार्थीलाई नगर प्रमुख अजय प्रकाश द्वारा शैक्षिक सामग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३१, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
डुमरियामा ५ सय विद्यार्थीलाई नगर प्रमुख अजय प्रकाश द्वारा शैक्षिक सामग्री वितरण

भदौ ३१ गते ।रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री माध्यमिक विद्यालयमा अध् ययनरत विद्यार्थीहरुलाई मंगलबार विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
कटहरिया नगरपालिकाको सहयोगमा विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवाल प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक नवल किशोर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख जैसवालले विषम परिस्थिति बीच पनि विद्यार्थीको पढाइ–लेखाइमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले पोशाक, टाई, बेल्ट, जुत्ता, मोजा, आईडी कार्ड र ब्याग सहितका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई अनुशासनका साथ अध्ययनमा ध्यान दिन र आफ्नो भविष्य उज्जवल बनाउन मेहनत गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नगर प्रमुख जैसवालले विद्यालयका शिक्षकहरुलाई समेत विद्यार्थीको पठन–पाठनमा कुनै कठिनाइ आउँदा तुरुन्त समाधान गर्न आग्रह गर्दै शिक्षामा सुधार नगरपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक ठाकुरले २०८१/८२ आर्थिक वर्षको विनियोजित बजेटबाट २२ लाखको लागतमा शैक्षिक सामग्री खरिद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् भने तीमध्ये ५ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । उहाँले विद्यालयको अवस्था विगतमा निकै दयनीय रहे पनि अहिले विद्यालय परिवारको अथक प्रयास र नगरपालिकाको सहयोगले विद्यालय सुधारोन्मुख अवस्थामा पुगेको बताउनुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली,लेखा प्रमुख कामेश्वर सहनी शिक्षा संयोजक सुरेन्द्र ठाकुर, स्थानीय सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यार्थीहरुलाई पठनपाठनमा सक्रिय रहन र विद्यालयसँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस