सर्लाही, ०३ असोज। सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका – ५ स्थित संग्रामपुर – बाँके सडकखण्डमा बिहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बाँकेबाट संग्रामपुरतर्फ गइरहेको बि आर ३० एई ८२२० नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६८ वर्षीय गजेन्द्र साहलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। तर अस्पताल पुर्याउन बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलका चालक जिल्लाकै पर्सा गाउँपालिका – ५ का २४ वर्षीय सरवन कुमार साहलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।


