
वीरगञ्ज, ०३ असोज। बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित हेटौँडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेसनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
सबस्टेसनमा रहेको दुई वटा पोल भाँचिएर एक अर्काको सम्पर्कमा आउँदा आगलागी भएको हो । क्षतिको विवरण यकिन अहिलेसम्म हुन नसके पनि ११ केभीएको एउटा फिडरमा क्षति पुग्दा करिब १० करोडको क्षति हुन जाने परवानीपुर सब स्टेसनका इन्चार्ज सहायक इन्जिनियर अमित चौधरीले जानकारी दिए । इन्जिनियर चौधरीका अनुसार सब स्टेसनको ९ वटा फिडरमा असर पुगेको बताए ।
आगलागी पछि सर्वसाधारणको घरमा बिद्युत् सप्लाई गर्न उद्योगहरूलाई वितरण गरिएको लाइन काटिएको छ । बुधवार दिउँसो आगलागी भएपछि अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार दिउँसोदेखि पुनः सुचारु गरिएको छ । १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा विद्युत् आपूर्ति पुनः अवरुद्ध भएको हो । चौधरीका अनुसार प्रसौनी सबस्टेसन मार्फत अस्थायी रूपमा आपूर्ति मिलाइएको छ ।
बुधवार दिउँसो ४ बजे ११ केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगन्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो ।
आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युत् आपूर्तिमा भएको लगातार अवरोधले औद्योगिक क्षेत्रदेखि व्यापारिक र सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ । नेपाल विद्युत् प्राधिकरणले भने मर्मत कार्यलाई तीव्र बनाएको र सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्ने योजनामा रहेको सहायक इन्जिनियर चौधरीले बताए ।
आगलागीबाट ११ केभीको २७ वटा ब्रेकर प्यानलमध्ये ९ वटा प्यानलमा पूर्ण रूपमा क्षति पुगेको छ । उद्योगहरूलाई १० देखि १२ दिनसम्म वैकल्पिक उपाय अपनाएर उद्योग चलाउन अनुरोध गरिएको परवानीपुरको सब स्टेसन इन्चार्ज समेत रहेका चौधरीले बताए ।
