झापाका विभिन्न हिरासतबाट भागेका ९० थुनुवा अझै सम्पर्कविहीन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
झापाका विभिन्न हिरासतबाट भागेका ९० थुनुवा अझै सम्पर्कविहीन

झापा, ०४ असोज। झापाका विभिन्न हिरासतबाट भागेका ९२ थुनुवामध्ये दुई जना मात्रै सम्पर्कमा आएको झापा प्रहरीले जनाएको छ । गत भदौ २४ मा प्रदर्शनकारीको निसानामा प्रहरी कार्यालयहरु परेका थिए ।

उक्त क्रममा इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा प्रहरी हिरासतबाट फरार भएका थिए । फरार थुनुवामध्ये हालसम्म दुई जना मात्रै जिल्ला प्रहरीको सम्पर्कमा आएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रहरी सम्पर्कमा आएका दुई जना लागुऔषध मुद्दामा इलाका प्रहरी कार्यालय अनारमनी हिरासतमा थिए । अन्य ९० जना भने सम्पर्कविहीन रहेका उनले जानकारी दिए । यसरी सम्पर्कविहीन हुने थुनुवाहरु गम्भीर, जघन्य प्रकृतिकादेखि अन्य अपराधमा संलग्नहरु छन् ।

‘दुई जना सम्पर्कमा आउनुभएको छ । परिस्थिति सहज बन्दै गएकाले अरु पनि सम्पर्कमा आउनुहोला,’ श्रेष्ठले भने । आगजनीबाट मुद्दाका फाइल, कागजातहरु पनि जलेको प्रहरीले जनाएको छ ।

२४ गते देशका विभिन्न स्थानबाट कारागारमा रहेका कैदी भागे पनि झापा कारागारबाट भने कैदी भाग्न पाएनन् । यद्यपि प्रहरीले भने ठूलो क्षति बेहोर्नुपर्‍यो । जिल्लामा चौकी स्तरका २३ वटा प्रहरी कार्यालयमा आन्दोलनका क्रममा क्षति पुगेको थियो भने ९ वटा प्रहरी कार्यालय पूर्ण रुपमा नष्ट भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस