

वीरगञ्ज, ०५ असोज। भोलिदेखि सुरु हुने बडादसैँको अवसरमा वीरगञ्जस्थित शक्तिपीठ गहवामाई मन्दिरलाई भव्य रूपमा सजाइएको छ । दसैँको पहिलो दिन अर्थात् घटस्थापनादेखि नै मन्दिरमा बिहानैदेखि श्रद्धालु र भक्तजनको भीड लाग्ने अपेक्षा गरिएको छ ।
माइस्थान सञ्चालक समितिले भक्तजनको सहजताका लागि विशेष व्यवस्था गरेको छ । भीड नियन्त्रण गर्न र प्रत्येक श्रद्धालुलाई सहज ढङ्गले पूजा गर्न सक्ने वातावरण बनाउन समिति सक्रिय रहेको छ ।
मन्दिरको सुरक्षाका लागि विशेष सिसिटिभी क्यामेरा जडान गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू खटाइएका छन् । स्रोतका अनुसार, मन्दिर परिसरमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गर्ने तयारी गरेको छ ।
भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै मन्दिरमा मोबाइल फोनको प्रयोग, टिकटक बनाउने, तस्बिर खिच्ने र भिडियो बनाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ । समितिका अध्यक्ष नरेन्द्र साहले श्रद्धालुहरूलाई महँगा गरगहना नलगाउन, बालबालिकाको विशेष ख्याल राख्न र कुनै समस्या परेमा समितिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
गहवामाई मन्दिरमा प्रत्येक वर्ष बडादसैँको अवसरमा मेला लाग्ने गर्छ । मेलामा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनलगायत नेपालका विभिन्न क्षेत्र र भारतको बिहार, उत्तर प्रदेशबाट समेत भक्तजनहरू आउने गर्छन् । विशेषगरी फूलपातीदेखि नवमीसम्म मेला निकै रमाइलो हुन्छ । अष्टमीको दिन मन्दिरमा परेवा, खसी र बोकाको बलि दिने परम्परा समेत रहेको छ ।
इतिहासका जानकारहरूका अनुसार, गहवामाई मन्दिरमा सयौँ वर्षदेखि बडादसैँको अवसरमा मेला लाग्दै आएको छ ।
