
पोखरा, ०५ असोज। जेनजी प्रदर्शनका क्रममा भागेकामध्ये कास्की कारागारका करिब ४ सय कैदीबन्दी फर्किएका छन् । अझै ३ सय ७० जना फरार रहेको कारागारले जनाएको छ ।
प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडफोड गरेपछि ३५ महिलासहित सात सय ७३ कैदीबन्दी भागेका थिए । कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए ।
‘४ सय हाराहारीमा कारागार आएका छन् । अरू केही सम्पर्कमा छन्,’ उनले भने, ‘कोही आएर फर्किसकेका छन् । आह्वान गरेपछि आउनुपर्छ ।’ दसैँ अघि कार्यालय समयभित्र आएनन् भने कानुनी कारबाही हुने उनको भनाइ छ ।
‘सबै कैदीबन्दीहरुलाई फर्किन विभागले पनि सूचना जारी गरेको छ । हामीहरूले पनि स्थानीयरुपमा भनिरहेका छौं,’ उनले भने, ‘नआउनेहरूलाई कारागार ऐन अनुसार कारबाही गर भनेर निर्देशन छ । भागे भगाएको कसुरमा ६ महिनादेखि १० वर्ष सजाएँ थप हुन्छ ।’
आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पर्वत र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए ।
कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेसन सञ्चालन गरेर उनीहरूलाई फर्काउने चेतावनी दिएको छ ।
