रुपन्देही,०७ असोज। बर्दियाको बबई नदीमा नुहाउन गएका दुई बालिका र गेरुवा नदीमा भैँसी चराउन गएका एक युवक बेपत्ता भएका छन्। उनीहरू तीनै जना सोमबार बेपत्ता भए पनि अहिलेसम्म केही अवस्था खुलेको छैन ।
बबई नदीमा नुहाउन गएका गुलरिया नगरपालिका-२ संगमबस्तीका १२ वर्षीया दुर्गा शाही र निशानी थापा दुवै जना १२ वर्षको भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल ३१ नम्बर गण र नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको जनाए । हिजो साँझ परेकोले उद्धार कार्य आज बिहानदेखि हुने उनले जनाए ।
यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका–२ राजीपुरस्थित गेरुवा नदीमा गोहीले आक्रमण गर्दा एक जना बेपत्ता भएका छन् । भैँसीलाई पानी खुवाउन गएका बेला सोमबार दिउँसो गोहीले आक्रमण गर्दा युवक बेपत्ता भएका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले गोहीको आक्रमणमा बेपत्ता हुनेमा सोही ठाउँका २५ वर्षीय विवश थारु रहेको बताए । उद्धार कार्यका लागि नेपाली सेना सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनतरिया रेञ्ज पोस्टबाट निकुञ्जका कर्मचारी खटिएका छन् ।


