काठमाडौं, १३ असोज। एशिया कप क्रिकेट २०२५ मा पाकिस्तानलाई हराउँदै उपाधि हात पारेको भारतीय क्रिकेट टिमलाई भारतीय क्रिकेट बोर्डले २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको छ।
गएराति दुबईमा सम्पन्न रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो। उपाधि जितेसँगै खेलाडी र सपोर्ट स्टाफलाई विशेष नगद सम्मान दिने निर्णय गरिएको हो।
यससँगै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। अलराउन्डर शिवम दुबे ले खेल परिवर्तनकर्ता बनेर ३५ सय अमेरिकी डलर जिते।
त्यस्तै, युवा ब्याट्सम्यान तिलक वर्मा ले उत्कृष्ट इनिङसहित दुई सम्मान पाए, सुपर सिक्स अफ द म्याच (३ हजार डलर) र प्लेयर अफ द म्याच (५ हजार डलर)। स्पिनर कुलदीप यादव लाई निरन्तर बलिङ प्रदर्शनका आधारमा टुर्नामेन्टको मूल्यवान खेलाडी घोषित गरियो र १५ हजार डलर प्रदान गरियो।
अर्का युवा स्टार अभिषेक शर्मा ले भने प्रतियोगिताको सबैभन्दा ठूलो सम्मान प्लेयर अफ द टुर्नामेन्ट जित्दै १५ हजार डलरसहित एक लक्जरी कार पनि प्राप्त गरे। उपाधि जितेको टोली भारतले ३ लाख अमेरिकी डलर जित्यो भने उपविजेता पाकिस्तानले ७५ हजार डलरमा चित्त बुझाउनुपर्यो।


