काठमाडौं, १३ असोज। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर फूलपाती भित्र्याएर मनाइँदै छ । दुर्गा पक्षअन्तर्गतको यो दिनलाई शुभ साइत र देवी नवदुर्गाको प्रतीकका रूपमा विशेष मानिन्छ।
घटस्थापनादेखि निरन्तर वैदिक विधिमा पूजा–अर्चना भइरहेको दशैँ घर वा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष जस्ता सामग्री भित्र्याउने प्रचलन छ। यी सामग्रीलाई ‘नवपत्रिका’ वा ‘फूलपाती’ भनिन्छ, जसलाई देवीका नौ विभिन्न स्वरूपहरूको प्रतीक मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ। यी देवीहरू नवदुर्गाका पार्षद् मानिन्छन्।
हनुमानढोका दरबारको दशैँघरमा पनि गोरखाबाट विशेष विधिपूर्वक फूलपाती ल्याउने परम्परा कायम छ। गोरखादेखि धादिङको जीवनपुरसम्म मगर समुदायका पूजारीहरूले बोकेर ल्याउने, त्यसपछि ब्राह्मणहरूले जमलसम्म पु-याउने र अन्ततः उच्च पदस्थ अधिकारी, सैनिक, ब्यान्डबाजा तथा सांस्कृतिक झाँकीसहित लावालस्करका साथ हनुमानढोका पुर्याइने चलन छ।
राजतन्त्रकालमा फूलपाती भित्र्याउने कार्यक्रममा राजाको उपस्थिति रहने गर्थ्यो भने गणतन्त्रपछि संस्कृति मन्त्री नै प्रमुख पाहुना हुने परम्परा बसेको छ। यस वर्ष पनि सोमबार अपराह्न ४ः३० बजे विशेष समारोहसहित फूलपाती भित्र्याइने कार्यक्रम तय भएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधि सहभागी हुनेछन्। फूलपातीसँगै घर–घरमा नवदुर्गाको आवाहन गरी विशेष पूजा गर्ने गरिन्छ। घटस्थापनासँगै सुरु भएको दसैँको धार्मिक गाम्भीर्यता र सामाजिक चहलपहल भने आजकै दिनदेखि झन् प्रबल हुने परम्परा रहेको छ।


