काठमाडौं, १३ असोज। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।
सीआईबीको टोलीले राणा र उनका बुवाआमा बस्दै आएको ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित दुई अलग–अलग घरमा छापा मारेको हो। भूषण राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्।
छापा मार्ने क्रममा भूषण राणा घरमै नभएको र उनका बुवाआमा घरमा रहेका सीआईबी स्रोतले जनाएको छ। सीआईबीका अनुसार, शंकास्पद नगद वा अन्य कागजात रहेको सूचनाका आधारमा खनतलासी गरिएको थियो।
तर, छापामारीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु वा कागजात फेला पार्न सकेन।
‘भूषण राणा घरमै हुनुहुँदैन थियो। उहाँका बुवाआमा बस्ने घरमा पनि केही भेटिएन,’ सीआईबीका एक अधिकारीले जानकारी दिए।
सीआईबीले स्थानीय वडाध्यक्षसहितको रोहवरमा घरको मुचुल्का उठाएको छ।

