
पर्सा, १४ असोज। पर्सामा सशस्त्र प्रहरीले ठुलो मात्रामा चरेससहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणको टोलीले विशेष सूचनाका आधारमा भारततर्फ चरेस तस्करी गर्ने क्रममा भारतको बिहार पश्चिम चम्पारण जिल्ला बेतिया कोईरी टोल – ३७ निवासी ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टका अनुसार, मोहमदको मोटरसाइकल (बीआर २२ जे ३५५०) को फल्स बटममा लुकाइएका ९ किलो ५२२ ग्राम चरेस बरामद गरिएको छ। उनले चलाएको मोटरसाइकल छिपहरमाई गाउँपालिका–४, बन्जारी नजिकैको भिष्वा-जानकी टोला सडकखण्डमा चेकजाँचका क्रममा रोकिएको थियो।
मोहमदसँगै आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद चरेस, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
