जाजरकोट, १५ असोज। जाजरकोटको नलगाड नगरपालिका–५, कालीमाटीबाट पोख्रातर्फ गइरहेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बुधबार बिहान कर्णाली प्रदेश नम्बर ०२००१ च १२५५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
सो दुर्घटनामा नलगाड – ५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। वलीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका रवीन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने एकजनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।


