बारामा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट र अपमान, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १६, बिहिबार (४ महिना अघि)
  • ४ पटक पढिएको
बारामा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट र अपमान, एक जना पक्राउ

वीरगञ्ज, १६ असोज। बाराको सुवर्ण गाउँपालिका–८ मझरियामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ ।

स्थानीय ३३ वर्षीय एक महिलालाई गाउँकै केही व्यक्तिहरूले असोज ११ गते कुटपिट गरी, कपडा च्यातेर अर्धनग्न बनाएर र कपाल काटेर अपमानित गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको किटानी जाहेरीअनुसार, गाउँकै बाबुसाहेब यादव, लालदेव पण्डित, विक्रम पण्डित र सुरेश यादवले माहिलामाथि बोक्सीको आरोप लगाउँदै जघन्य व्यवहार गरेका हुन् ।

पीडित महिलाको परिवारका सदस्यहरूले दिएको जाहेरी अनुसार, विक्रम पण्डित र लालदेव पण्डितले पीडित महिलाको निजी जग्गामा जबरजस्ती बाटो बनाएका थिए । जबरजस्ती बाटो बनाएको विरोधमा उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिन जाँदा बाटोमै छेकेर उनलाई बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गरिएको थियो । 

पीडित महिलाले घटनापछि कलैयास्थित अस्पतालमा लगेर उपचार गराइएको थियो । हाल उनलाई थप उपचारका लागि वीरगञ्जको एक अस्पतालमा भर्ना गरिएको छ ।

उनले आफूलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गरिएको प्रहरी समक्ष बयान दिएकी छन् । “मेरो लुगा च्यातियो, कपाल काटियो । यस्ता मान्छेहरू पशुजस्ता छन् । उनीहरूलाई कडा कारबाही नभएसम्म मलाई न्याय हुँदैन,” उनले भनिन् ।”

महिलाका श्रीमान् रोजगारीको सिलसिलामा काठमाडौँ बस्ने गर्छन् । घटनाबारे छोरीले फोनमार्फत जानकारी दिएपछि उनी तत्काल गाउँ फर्केका थिए । “मेरी पत्नीमाथि यस्तो अमानवीय व्यवहार भएको सुन्दा मन भत्कियो । छोरी रुँदै फोनमा कुरा सुनाउँदा म तुरुन्तै काठमाडौँबाट गाडी चढेर घर आएँ,” उनका श्रीमान्ले भने ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिलीप थापाका अनुसार, आरोपितमध्ये ५३ वर्षीय लालदेव पण्डितलाई नियन्त्रणमा लिइसकिएको छ । बाँकी तीन जना; ३५ वर्षीय बाबुसाहेब यादव, ५५ वर्षीय विक्रम पण्डित र ४५ वर्षीय सुरेश यादव फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको छ ।

प्रहरीले चारै जनाविरुद्ध अपमानजनक व्यवहार र बोक्सीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

घटनाले सामाजिक अन्धविश्वास र महिलामाथिको हिंसालाई पुनः सतहमा ल्याएको छ । पीडित महिला र उनका परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । यस्ता घटनाले समाजमा जागरूकता र कानुनी सचेतनाको आवश्यकता झनै उजागर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस