वीरगञ्ज, १६ असोज। विश्वका विभिन्न देशहरूमा युवाहरूको सरकारविरुद्ध सडक आन्दोलनको लहर फैलिँदै गर्दा उत्तरी अफ्रिकी मुलुक मोरक्कोमा पनि सोही किसिमको विरोधहरू सुरु भएको छ । बङ्गलादेश, श्रीलङ्का, नेपाल, पेरु र मडागास्करका पछि मोरक्कोका युवाहरूले पनि सरकारको भ्रष्टाचार र प्राथमिकताको गलत प्रयोगविरुद्ध सडक प्रदर्शनमा सुरु गरेका हुन् ।
मोरोक्कोमा भइरहेको आन्दोलनलाई पनि नेपाली जस्तै ‘जेन-जी प्रदर्शन’ भनिएको छ । आन्दोलनको नेतृत्व कुनै ठूलो राजनीतिक दल वा नेता नभई इन्टरनेट प्लेटफर्महरूबाट युवाहरूले गरिरहेका छन् ।
मोरक्कोका युवाहरूले सन् २०३० को फिफा विश्वकप तयारीमा अर्बौँ डलर खर्च भइरहेको भन्दै कडा आपत्ति जनाएका छन् । उनीहरूका अनुसार, देशका स्कुल र अस्पतालहरूमा आधारभूत सुविधासमेत नहुँदा सरकारले स्टेडियम निर्माणमा मात्र ध्यान दिएको छ ।
आन्दोलन शनिवार (सेप्टेम्बर २७) सुरु भएर अहिले पाँचौँ दिनसम्म जारी छ । बुधवार राति पनि प्रमुख सहरहरू रबात, कासाब्लान्का, साले र अन्य ठाउँहरूमा हजारौँ युवा सडकमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरूले ‘स्टेडियम त छन्, तर अस्पताल कहाँ छन् ?’ लगायतका नारा लगाउँदै सडक आन्दोलन गरिरहेका छन् । मोरक्कोले विश्वकपका लागि करिब ३५ अर्ब डलर खर्च गरेर कम्तीमा ३०० नयाँ स्टेडियम निर्माण र अन्य ६ वटा स्टेडियमको स्तरोन्नति गर्दै छ । तर, युवाहरूले खर्चको फाइदा जनतासम्म पुग्नुको साटो भ्रष्टाचारमा मात्र सीमित भएको आरोप लगाएका छन् ।
पछिल्लो समय अगाडिरको एक सरकारी अस्पतालमा आठ जना महिलाको मृत्यु भएको घटनाले आक्रोशलाई झन् तीव्र बनाएको छ । स्वास्थ्य मन्त्रीले अस्पतालका निर्देशक र क्षेत्रीय स्वास्थ्य अधिकारीहरूलाई बर्खास्त गरेको भए पनि युवाहरूले कारबाहीलाई अपर्याप्त बताएका छन् ।
त्यस्तै बढ्दो महँगी, बेरोजगारी र शिक्षा तथा स्वास्थ्य सेवाको दुरवस्था पनि युवाहरूले प्रमुख एजेन्डा हुन् । प्रदर्शनकारीहरूले स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकारलाई आफ्नो मुख्य माग बनाएका छन् ।
आन्दोलन टिकटक, डिस्कर्ड र अन्य सोसल मिडियाबाट सुरु भएको हो । ‘जेन-जी २१२’ नामक अनलाइन समूहले यसलाई संगठित गरेको छ । समूहमा दुई दिनमै ४५ हजार सदस्य थपिएका छन् ।
प्रदर्शनहरूले सुरुमा शान्तिपूर्ण आन्दोलन गरे पनि प्रदर्शनहरू बुधवारदेखि हिंसात्मक बनेका छन् । रबातको साले सहरमा सयौँ मास्क लगाएका किशोरहरूले कार, बैंक र पसलहरूमा आगो लगाएका छन् भने झ्यालहरू फुटाएर लुटपाट समेत गरेको बुझिएको छ । प्रहरीको उपस्थिति नहुँदा अवस्था झन् विकराल बनेको थियो ।
सरकारले यसलाई ‘अनधिकृत’ भन्दै दमन गरेको छ । मोरोक्कोको गृह मन्त्रालयका अनुसार, हालसम्म ४ सय ९ जना पक्राउ परेका छन् । यद्यपि, मानवअधिकार संस्था मोरक्कन एसोसिएसन फर ह्यूमन राइट्सले सङ्ख्या एक हजारभन्दा बढी भएको दाबी गरेको छ ।
त्यस्तै आन्दोलनका क्रममा सुरक्षा बलका २६३ सदस्य घाइते भएका छन् भने १४२ वटा सवारी साधन क्षतिग्रस्त भएका छन् । साथै, २० निजी कारहरूमा पनि तोडफोड भएको छ । मन्त्रालयले कानुन उल्लङ्घन गर्नेहरू विरुद्ध ‘कठोर’ कदम चाल्ने चेतावनी दिएको छ ।
मानवअधिकारकर्मीहरूका अनुसार, गिरफ्तारीले प्रदर्शनकारीहरूको रोष झन् बढाएको छ । वार्ताको साटो दमनले आन्दोलनलाई थप व्यापक बनाएको उनीहरूको भनाइ छ । यसबिच, मोरक्कोका चर्चित फुटबलर यासिन बुनु र र्यापर एल ग्रान्डे टोटोले पनि प्रदर्शनकारीहरूलाई समर्थन जनाएका छन् ।
मोरोक्कोका प्रधानमन्त्री अजिज अखन्नोउचले स्वास्थ्य क्षेत्रमा ‘ठूला उपलब्धि’ भएको दाबी गरेका छन् र देशभरि अस्पताल निर्माणको प्रक्रिया चलिरहेको बताएका छन् । मन्त्रिपरिषद्ले बिहीबार स्वास्थ्य र अस्पताल सुधारबारे छलफल गर्ने योजना छ । तर, अधिकारीहरूले विश्वकप खर्चलाई सार्वजनिक पूर्वाधारभन्दा माथि राखेको आरोपलाई अस्वीकार गर्दै समस्या पुरानो सरकारबाट आएको दाबी गरेका छन् ।
आन्दोलन मोरक्कोका पछिल्ला वर्षहरूका सबैभन्दा ठूला प्रदर्शनमध्ये एक बनेको छ । प्रहरीका व्यापक प्रयासका बाबजुद १२ भन्दा बढी सहरहरूमा युवाहरू सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई ‘मोरक्कोको जेन-जी क्रान्ति’ भनेर चित्रण गरेका छन् ।


