पवन कुमार उपाध्याय
रौतहट,१७ असोज। गरुडामा पहिलो पटक रावण दहन कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।
विजयादशमी अर्थात दशैँको नवौं दिन बिहीबार साँझ गरुडा नगरपालिका–४, छठ घाट चाँदी नदीको किनारमा करिब १५ फिट अग्लो रावणको प्रतिमा दहन गरिएको हो ।“असत्य माथि सत्यको विजय“ भन्ने मुल नाराका साथ हिन्दु सम्राट सेना गरुडा, रौतहटका अध्यक्ष उत्तम कुमार जैसवालको संयोजन तथा सहयोगी संस्थाको रुपमा लायन्स युवा क्लव गरुडा–४ का अध्यक्ष नरेन्द्र यादवको सह–संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल जैसवाल रहनुभएको थियो भने विशिष्ट अतिथि युवा नेता शैलेस जैसवाल हुनुहुन्थ्यो । साथै कार्यक्रमलाई थप भव्य बनाउन नगरका अन्य सामाजिक व्यक्तित्व, राजनैतिक नेता, व्यापारी, बुद्धिजीवी तथा स्थानीय बासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
रावण दहनको क्रममा उपस्थित प्रमुख तथा विशिष्ट अतिथिहरूसहित विभिन्न सामाजिक अगुवाहरूद्वारा विधिपूर्वक रावणको प्रतिमामा आगो लगाइएको थियो । प्रतिमा दहनसँगै उपस्थित दर्शकदीर्घाबाट जयघोष सहित ठूलो संख्यामा स्थानीय बासिन्दा उत्साहका साथ सहभागी भएका थिए ।
कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । स्थानीय कलाकारहरूले देशभक्ति गीत, नृत्य र नाटक प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । विशेषगरी युवाहरूद्वारा प्रस्तुत गरिएको रावण वध सम्बन्धी सांकेतिक नाट्य प्रस्तुतीले कार्यक्रममा थप रौनकता थपेको थियो ।
गरुडामा यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएकोले स्थानीय वासिन्दामा विशेष उत्साह देखिएको थियो । कार्यक्रमलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा अझ ठूलो स्तरमा रावण दहन आयोजना गर्ने प्रतिबद्धता आयोजकहरूले गरेका छन् ।


