सुनसरी, २० असोज। लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावित कोशी प्रदेशका विभिन्न स्थानमा फसेका ५५५ जनाको सकुशल उद्धार गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरूको संयुक्त प्रयासमा उद्धार गरिएको हो।
जसमध्ये २३ जनालाई अति जोखिमपूर्ण स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्दार गरिएको छ भने बाँकी ५३२ जनालाई स्थलमार्गबाट सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा पुर्याएका छन्।
झापा गाउँपालिकाबाट १६ जनालाई उद्दार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। त्यस्तै इलामको माङसेबुङ गाउँपालिका–१ मा घाइते तीनजनालाई उद्दार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पठाइएको छ। इलामकै सन्दकपुर गाउँपालिका–४ माबुमा रहेका चार जना घाइतेलाई उद्दार गरी झापाको बी एण्ड सी अस्पतालमा पठाइएको एसएसबी पोखरेलले बताए ।
बाढी र पहिरोका कारण हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा पाँचथर, मोरङ, सुनसरी, उदयपुर र खोटाङका नागरिक रहेका छन्।
प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली अझै पनि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। मौसममा सुधारसँगै उद्दार कार्य थप सहज बनेको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए।
बाढी र पहिरोले इलाम, पाँचथर, उदयपुर, खोटाङलगायतका पहाडी जिल्ला तथा तराईका मोरङ र सुनसरीमा ठूलो जनधनको क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ। प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई अझै सतर्क रहन अनुरोध गरेको छ।


