वीरगञ्ज, २० असोज। असोज १७ देख १९ गतेसम्म तीन दिनसम्म लगातार परेको अविरल वर्षाले नेपालभर ठूलो जनधनको क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार मध्याह्न १२ बजेसम्मको तथ्याङ्कमा ४६ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । यस्तै, २४ जना घाइते भएका छन् र १८ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
वर्षा र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा भएको छ । इलाममा पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिकामा पहिरोले गर्भवती महिलासहित दुई जना फसेका थिए ।
यस्तै, रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाले ज्यान गुमाएका छन् । पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटा जिल्लाहरूमा पनि बाढी, पहिरो, चट्याङ र खोलाको बगावटले मानवीय क्षति भएको छ ।
झापामा बाढी र डुबानमा परेका १६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ ।
स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरू प्रभावित क्षेत्रमा सडक र सञ्चार व्यवस्था पुन:स्थापना गर्न र राहत वितरण गर्न सक्रिय छन् ।
मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेकाले सरकारले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिमबाट बच्न उच्च सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
प्राकृतिक विपद्ले देशभरको जनजीवन प्रभावित भएको छ । सरकार र समुदाय एकजुट भएर राहत र पुन:स्थापनाको प्रयासमा जुटिरहेका छन् ।


