सिरहामा पानी जमेको भिडियो सार्वजनिक गरेपछि वडाध्यक्षले दिए युवतीलाई धम्की

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
सिरहामा पानी जमेको भिडियो सार्वजनिक गरेपछि वडाध्यक्षले दिए युवतीलाई धम्की

सिरहा ,२३ असोज। अबिरल बर्षाको कारण गाउँमा पानी जमेको भिडियो समाजिक सँजालमा हालेपछि वडाध्यक्षले घर पुगेर धम्काएको प्रकरण बाहिर आएको छ । 

सिरहाको सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वरमा मनिका शर्मा नामक युवतिले गाउँमा पानीको सतह बढेको भिडियो हालेपछि सोही वडाका वडाध्यक्ष शिवशंकर झाले घर पुगेर धम्की दिएका हुन् । 

युवति शर्माले बर्षाको कारण घर र सडकमा पसेको पानीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि वडा अध्यक्ष झाले उनलाई घरमै पुगेर धम्की दिएका छन्।

शर्माले केही दिन अगाडि परेको अविरल वर्षाका कारण घरभित्रै पानी पसेको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि वडा अध्यक्ष झाले भिडियो हटाउन दबाब दिएका थिए। मोनिका शर्माले भिडियो डिलिट गर्न अस्वीकार गरेपछि अध्यक्ष झा घरमै पुगेर भविष्यमा कुनै पनि सामग्री पोस्ट गर्नु अगाडि आफूलाई सोधेर मात्र पोस्ट गर्न भनिएको स्थानीयले बताएका छन्।

उक्त घटनापछि सामाजिक सञ्जालमा जनआक्रोश फैलिएको छ। यसैबीच, सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजीत कुमार यादवले मोनिका शर्माको पक्षमा खुला समर्थन जनाएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत मोनिकालाई नडराउन आग्रह गर्दै भनेका छन्, “साहसी महिला मोनिका शर्मा तपाईं एक्लो हुनुहुन्न, हामी तपाईंको साथमा छौँ।”

समाजका विभिन्न तहका युवाहरू र नागरिक समाजले समेत वडाध्यक्ष झाको व्यवहारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने माग गरेका छन्।

स्थानीय तहका प्रतिनिधिहरूद्वारा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको यस्तो हस्तक्षेपप्रति गम्भीर प्रश्न उठिरहेको छ। मोनिका शर्माले आफ्नो तर्फबाट कुनै गलत कुरा नगरेको बताउँदै, “मैले भोगेको पीडा समाजसँग बाँडेकी मात्र हुँ,” भन्ने प्रतिक्रिया दिएकी छन्।

यता, वडाध्यक्ष झाले भने प्रतिक्रया दिन मानेन् । अहिलेससम्म यस सन्दर्भमा सिरहा नगरपालिकाका मेयर डा. नविन यादवले भने कुनै सार्वजनिक प्रतिक्रिया जनाएका छैनन् । 

स्रोत:- न्यूज ब्यूरो डेस्क

ताजा अपडेट

खोजी गर्नुहोस