सरकारी जग्गा हिनामिना काण्ड : तीन कर्मचारीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

विराटनगर,२४ असोज। मोरङ सुनबर्षी नगरपालिका-६ को सरकारी जग्गा रंगेली मालपोत कार्यालयका कर्मचारीको सेटिङमा व्यक्तिको नाममा दर्ता गरिएको खुलेको छ । १७ कठ्ठा २ धुर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अनुसन्धान सुरू गरिएको छ ।

सुनवर्षी-६ को कित्ता नम्बर ११० को जग्गामा लामो समयदेखि २० घर सुकुमबासी बस्दै आएका थिए । त्यो जग्गाको पुर्जा भीमप्रसाद सिंहको नाममा बनेको खुलेपछि अनुसन्धान थालिएको हो ।

धनीपुर्जा बनाएसँगै भदौ २३ गते उनी जग्गा खाली गराउन डोजर लिएर सुकुमबासी बस्ती पुगेका थिए । २० वर्षदेखि बस्दै आएको जमिनबाट हटाउन खोजेपछि सुकुमबासीले प्रतिकार गरेका थिए । सो प्रकरण बाहिर आएपछि अनुसन्धानका लागि मोरङ जिल्ला अदालतले रङ्गेली मालपोत कार्यालयका तीन कर्मचारी र सिंहलाई पक्राउको अनुमति दिएको छ ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मालपोत कार्यालयका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गाधनी भीमप्रसाद सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बताए ।

उनले भने, ‘प्रहरीले उनीहरूलाई पक्राउको लागि अनुमति माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सुकुमबासीहरूले इलाका प्रहरी कार्यालय रंगेलीमा बुधबार ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका थिए ।

मालपोतका कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर जग्गाको अभिलेख राखिने मूल ढड्डा (स्रेस्ता) को सक्कली पाना च्यातेर भीमप्रसाद सिंहको नाममा नक्कली अभिलेख टाँसेको पाइएको छ ।

रंगेली मालपोत प्रमुख सुनील पौडेलले कीर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा धनीपुर्जा बनेको देखिएको बताए ।

पौडेलले मालपोत कार्यालयको अभिलेखमा २०५८ सालमा भीमले जग्गा प्राप्त गरेको देखिएको बताए । उनले भने, ‘२०७३/०७४ सालको स्रेस्तामा २०५८ सालमा राजीनामा पास गरेको अभिलेख छ । यो प्राविधिक र कानूनी दुवै हिसाबले असम्भव छ । यो शतप्रतिशत कीर्ते हो ।’

सुनवर्षी नगरपालिका-६ स्थित कित्ता नम्बर ११० को १७ कट्ठा २ धुर सरकारी जग्गामा २०३०/३५ सालदेखि २० घर सुकुम्वासी बस्दै आएका थिए ।

मोरङका सीडीओ इन्द्रदेव यादवले यो विषयमा अनुसन्धान भइरहेको बताए । सत्य तथ्य लेखी पठाउन मालपोत कार्यालयलाई २४ घण्टाको समय दिइएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस