
काठमाडौं, २५ असोज। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन लिखित सिफारिस गरेको खुलासा गरेका छन् ।
शुक्रवार सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले भने, “सुशीला कार्की तत्कालीन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा प्रधानमन्त्री बन्नुभयो, हामी त साक्षी मात्र हौँ । आफैँले बनाएको सरकारलाई अहिले ‘हाहा–हुहु’मा बनेको भन्नु ओलीलाई सुहाउँदैन । बरु, हामी साक्षीले यस्तो भन्न मिल्ला ।”
प्रचण्डले आगामी २१ फागुनको निर्वाचनलाई सफल बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले निर्वाचनपछि राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरी जेन–जी पुस्ताका माग सम्बोधन गर्नुपर्ने बताए । “यो संविधान यथास्थितिमा काम लाग्दैन । परिमार्जन आवश्यक छ, र यो सहमतिमै हुनुपर्छ,” उनले भने । जेन–जी आन्दोलनले संविधान कार्यान्वयनको समीक्षा गर्ने बेला आएको उनको भनाइ छ । “हामीले १० वर्षमा संविधानको समीक्षा गर्ने प्रतिबद्धता गरेका थियौँ । अब गम्भीर छलफलको समय आएको छ,” उनले थपे ।
प्रचण्डले विगतमा सहमतिकै आधारमा निर्वाचन र संविधान निर्माण भएको स्मरण गर्दै अहिले पनि राष्ट्रिय सहमति जरुरी रहेको बताए । “आरोप–प्रत्यारोपको समय होइन, बिग्रेका कुरा सच्चाउने बेला हो । सबै दलले आत्मसमीक्षा गर्नुपर्छ,” उनले भने । उनले आफू नयाँ–पुराना दल र जेन–जी प्रतिनिधिसँग निरन्तर संवादमा रहेको पनि खुलाए । “जेन–जीलाई विश्वासमा लिएर सहमतिको वातावरण बनाउन सकिन्छ,” उनले जोड दिए ।
प्रचण्डले विगतको सत्तारूढ गठबन्धनले संविधानको मर्म विपरीत काम गरेको टिप्पणी गरे । “सदनको पहिलो र दोस्रो दल मिलेर दुई तिहाइ बनाएर जे गरे पनि हुन्छ भन्ने मानसिकताले समस्या निम्त्यायो । मैले विश्वासको मत दिँदा नै यसको परिणाम गम्भीर हुन्छ भनेको थिएँ,” उनले भने । जेन–जी आन्दोलनअघि नै आफूले खबरदारी गरेको तर सरकारले नसुनेको उनको गुनासो छ ।
प्रचण्डले आन्दोलनका बेला सेनाले आफूलाई बचाएको भन्दै धन्यवाद दिए । तर, उनले प्रश्न पनि उठाए, “हामीलाई बचाएको सेनाले सिंहदरबार, सर्वोच्च अदालत र शीतलनिवास किन बचाएन?” उनले आन्दोलन चर्किँदै जाँदा सिंहदरबारमा विपक्षी बैठकमा रहँदा सेनाले आफूलाई उद्धार गरेको खुलासा गरे । “मैले स्वयं प्रधानसेनापतिलाई फोन गरेर सुरक्षा मागेको थिएँ । सेनाले हेलिकोप्टर र गाडीमार्फत नेताहरूलाई उद्धार गरेको थियो,” उनले भने । हेडक्वार्टरबाटै राजनीतिलाई सही दिशामा ल्याउन आफूले सक्दो भूमिका खेलेको उनको दाबी छ ।
प्रचण्डले जेन–जी पुस्ताको आन्दोलनले संविधानको समीक्षा र परिमार्जनको आवश्यकता झन् प्रस्ट भएको बताए । “निर्वाचनपछि सबै दल र जेन–जीका मागलाई समेटेर संविधान संशोधन गर्नुपर्छ । यो देशको प्रमुख आवश्यकता हो,” उनले भने । उनले सबै दललाई आत्मसमीक्षा गरी जनतासामु खुलस्त कुरा राख्न र सहमतिका आधारमा अघि बढ्न आग्रह गरे ।
